उपरथी शाहीलाई बर्खास्त गर्ने सैनिक अदालतको निर्णय

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– नेपाली सेनाको सैनिक अदालतले उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठन भएको सैनिक अदालतले आज उपरथी शाहीलाई आर्थिक अनुशासन विपरीत आचरण गरेको आरोपमा दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

सैनिक मुख्यालयका अनुसार शाहीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय भएको छ ।

कोर्ट अफ इन्क्वाइरीपछि गठन गरिएको सैनिक अदालतले शाहीको मुद्दामा जोडिएका अन्य महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको सैनिक मुख्यालयले जनाएको छ ।

तिमसिना र शाहको दुई वर्ष बढुवा रोक्का गर्ने आदेश समेत भएको छ ।

शाही अवकाशमा पठाउने नेपाली सेनाको जंगीअड्डाको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी कार्यालय हाजिर हुन पुगेपनि सैनिक मुख्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

सैनिक अदालतको निर्णय आदेशलगत्तै  दुई महिनापछि सैनिक हिरासतबाट शाही थुनामुक्त भएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्