नेभिगेशन
समाज विविध

मदिरा पिएर स्कुल बस चलाउने चालक पक्राउ

काठमाडौँ –मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ चालकसहित अन्य ८७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

ट्राफिक प्रहरीले सवारी जाँचकै क्रममा मापसे गरेका स्कुल बसका चालकलाई नियन्त्रणमा लिएको हो । बुङमतिस्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश–०१–००६ ख ४६ २९ नम्बरको बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई नियन्त्रणमा लिइएको छ । 

कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाइए पछि उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । 

त्यस्तै अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालक पनि कारबाहीमा परेका छन् । 

विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने,  सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालक पनि कारबाहीमा परेका छन् ।

नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २÷२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालक कारबाहीमा परेका हुन् । यसका साथै अन्य कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध