सांसद गयल हुनेबारे उपसभामुखको प्रतिक्रिया : खाली कुर्सी देख्दा इरिटेड हुन्छ, प्रेसर आयो

मंगलबार, फागुन १६, २०७९

काठमाडौं– उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । 

मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले प्रतिनिधिसभा सांसदविहिन देख्दा आफुलाई ‘इरिटेड’ हुने गरेको बताएकी हुन् । 

उनले भनिन, ‘प्रतिनिधिसभामा कोही बेला सिटहरु खालि खालि हुन्छ । मलाई दुःख लाग्छ । धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन ।’

प्रतिनिधिसभाको बैठकमा सांसदहरुको अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने ? भन्दै रानाले प्रश्न गरेकी थिइन् ।

‘माननीयज्यूहरु बैठकमा नआउँदा मलाई एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने ? त्यस्तो पनि लाग्छ’, उनले भनिन् । 

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । 

‘गठबन्धनले पनि भोट दिए । सबैले मन पराएर म उपसभामुख भएकी छु । मैले मेरो ५ वर्षको कार्यकाललाई हतोत्साही नभइकन अविचलित भएर, निडर, तटस्थ भएर आम नेपाली जनताहरुको आवाजलाई सम्बोधन गर्ने प्रयास गर्नेछु’, रानाले भनिन् । 

महिलाहरु समानुपातिक र समावेशिताको दृष्टिले मात्रै नभई खुलारुपमा पनि राज्यका विभिन्न तहमा पुग्नुपर्ने रानाले बताइन् । राज्यका निकायमा ५० प्रतिशत महिला पु¥याउन प्रयास गर्नुपर्ने उनको भनाई थियो । 

उनले भनिन्, हामी महिलाहरुले महिलाहरुलाई हरेक तहमा ३३ प्रतिशत भन्दैछौँ भने ५० प्रतिशत, त्योभन्दा बढेर पनि जानसक्ला । त्यहाँ हामीले प्रयास गर्नुपर्छ । महिलाहरुलाई समावेशिता र समानुपातिकताको आधारमा पद दिने होइन । हामी एउटा राजनीतिक पार्टीको रबरस्ट्याम्प हुने होइन । हामीले आफ्नो ठाउँमा आफ्नो भुमिका खोजिहाल्नु पर्छ ।’ 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्