राष्ट्रपति चुनावपछि मात्रै विश्वासको मत

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । 

अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारकी प्रवक्ता रेखा शर्माले जानकानरी दिइन् । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले यसअघि सरकारलाई समर्थन गरेका केही दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानुनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताइन् । 

उनले राष्ट्रपति चुनाव नजिक आइरहेको अवस्थामा त्यसपछि मात्रै विश्वासको मत लिने तयारी भएको बताइन् । 

प्रवक्ता शर्माले राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन हुने पनि जानकारी दिइन् ।

यसैबीच, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले जनयुद्ध र जनआन्दोलनका क्रममा मृत्यु भई सहिद घोषणा भई राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका सहिदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइन् । 

बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले सरकारका सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौँमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौँडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी चौबिसै घन्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्