स्ववियु चुनाव

देशभरका क्याम्पसमा समिति गठन

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ । 

आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्न निर्वाचन समिति गठन गरेको जानकारी दिए । 

प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको हो । 

उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउनेछ । त्रिविका सबै आंगिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसकेको छ ।

निर्देशनालयका निर्देशक अधिकारीले क्याम्पस गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थित निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताए ।

यस्तै, उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचारसमेत गरिएको जानकारी दिए । 

आगामी चैत ५ गते देशभरिका त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार