‘४ वर्षभित्र नेपाल जलविद्युत्‌मा आत्मनिर्भर बन्छ’

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत्‌मा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । 

मंगलबार काठमाडौँमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । 

उनले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुख्खायाममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए । जलविद्युत्‌मा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावाट विद्युत् बढी हुने उनले बताए । 

उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए ।

नेपालको जलविद्युत् उत्पादन क्षमता २५ सय ४४ मेगावाट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावाट विद्युत् उत्पादन बढ्दै गएको उनको भननाइ छ ।

निर्देशक घिसिङले सन् २०४२-४३ सम्ममा २० हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए । पछिल्लो समय उद्योगहरूमा जलविद्युतको माग राम्रो रहेको बताउँदै उनले ११ हजार मेगावाट जलविद्युत् उत्पादनका लागि पिपिएका लागि पाइपलाइनमा रहेका भन्दै करिब ७ हजार मेगावाटको पिपिए भइसकेको बताए ।

त्यस्तै निर्देशक घिसिङले जलविद्युत् उत्पादनका लागि १.२ मिलियन डलर लगानी प्रतिबद्धता भइसकेको बताउँदै एक्जिम बैंकबाट ७०० मिलियन, जाइकाले १४० मिलियन, विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रबिद्धता गरेको उल्लेख गरे ।

उनले जलविद्युत् उत्पादनका लागि नयाँ–नयाँ प्रोजेक्टहरू बनाउन अहिले प्राप्त भएको लगानी प्रतिबद्धताले मात्रै अपुग हुने बताए ।

उनले सरकारले जलविद्युत्‌मा लगानी र बजेट विनियोजन गर्न सम्भव नभएको बताउँदै प्राधिकरण जलविद्युत् उत्पादनका लागि लगानी सुनिश्चित कसरी गर्ने भन्ने विषयमा काम गरिरहेको पनि जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्