मरेनी र बुल आलु पकेट क्षेत्र

मंगलबार, फागुन १६, २०७९

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन ९पकेट० विकास कार्यक्रम सुरु भएको छ । 

व्यावसायिक आलु खेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा कार्यक्रम सञ्चालन गरेको हो ।

शाखाका प्रमुख आश्विन खत्रीले कार्यक्रममार्फत २ ठाउँका ५८ घरधुरी कृषकले ११४ रोपनी बारीमा आलु खेती गरेको जानकारी दिए ।

‘कृषकलाई ज्ञान, सीप र प्रविधिमा सहयोग गरी व्यावसायिक आलु खेती विस्तार गर्ने कार्यक्रमको उद्देश्य हो’, उनले भने, ‘कृषकलाई उपकरण, बिउ, विषादी र बजारीकरणमा ५० प्रतिशत अनुदानको सुविधा छ ।’

गाउँपालिकामा आवेदन पेस भएकामध्ये छनोट भएको वडा– २ को लनगशील बहुउद्देश्यीय समूह र वडा– ६ मराङको बुलझर्मका कृषि जडीबुटी तथा पशुपक्षी कृषक समूहलाई छनोट गरिएको हो ।

दुइटै समूहलाई चालु आर्थिक वर्षमा ६/६ लाख रुपैयाँका दरले अनुदान दिइने शाखा प्रमुख खत्रीले बताए ।

८ वटा मिनि टिलर हलो माग गरेका समूहले १२ हजार किलो बिउ आलु रोपेका छन् । यसैगरी विषादी, स्प्रे र बजार पठाउने क्रममा आलु भण्डारण गर्न थैला उपलब्ध गराइने भएको छ ।

कार्यक्रममार्फत मरेनीमा १८ घरधुरीले २० वर्षदेखि बाँझो रहेको जग्गामा झाडी फडानी गरेर सामूहिक आलु खेती विस्तार गरेका छन् । बुलका ४० घरधुरीले व्यक्तिगत जग्गामा आलु खेती गरेका छन् ।

१ महिनादेखि बाँझो जग्गाको झाडी फँडानी गर्ने काम सुरु गरिएकामा खनजोत सकेर आलु लगाइएको लगनशील कृषक समूहका अध्यक्ष गौसरा विकले बताए । समूहले मरेनीसँगै पैरेनी र लमसुङमा थप सय रोपनीमा आलु लगाउने तयारी गरेको जनाएको छ ।

‘बाँझो जग्गामा आलु खेती गरिएपछि वर्षाँैदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ’, गाउँपालिकाका कृषि प्राविधिक अमृत थापाले भने, ‘यसलाई आगामी वर्षमा निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकूल भएमा सामूहिक आलु खेतीबाट स्थानीयबासीको आयआर्जनमा टेवा पुग्नेछ ।’

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्