राष्ट्रपतिका उम्मेदवारका लागि आज उम्मेदवारी फिर्ताको समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता गर्न सक्नेछन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मलाई उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको जनाएको छ ।

यदि, उम्मेदवारी फिर्ता नगरेको खण्डमा साँझ ५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ ।

राष्ट्रपति पदमा नयाँ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)को तर्फबाट सुवास नेम्वाङको उम्मेदवारी परेको छ । यी दुवैले उम्मेदवारी फिर्ता लिने सम्भावना नभएको बताइएको छ । यसर्थ, आज साँझ यी दुवैको अन्तिम नामावली प्रकाशन हुने सम्भावना छ ।

यी दुई उम्मेदवारविरुद्ध कुनै उजुरी पनि नपरेकाले उनीहरू राष्ट्रपतिको उम्मेदवारका लागि योग्य ठहरिएका छन् ।   
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्