अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्‍याउनेलाई जरिवाना

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्‍याउनेलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्‍याएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही गर्छौँ । उक्त स्थानमा सबै किसिमका अस्पतालजन्य फोहरको व्यवस्थापनका लागि बन्देज गरिएको छ ।

उक्त फोहरहरू अन्य सामान्य फोहरभन्दा हानिकारक हुने भएकाले रोक लगाइएको विभागको भनाइ छ ।   

विगत सात महिनादेखि कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर बञ्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको जहाँ सामान्य फोहर मात्र व्यवस्थापन गर्न मिल्छ ।  अस्पतालजन्य फोहर हानिकारक मानिने हुँदा उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहरमा बदल्नु पर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सक्ने व्यवस्था रहेको छ । 

अस्पतालबाट निस्कने फोहर मात्र होइन कामपाले अन्य सबै किसिमको फोहरलाई पनि स्रोतमा नै वर्गीकरण गरेर लाने तयारी गरिरहेको छ । गत साउन १ गतेदेखि नै कामपाले उक्त व्यवस्था सुरु गरेको भए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।   

स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । 

महानगरको कूल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुन सकेको छैन । 

हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।  विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । 

गत सातादेखि कामपाले कुहिने फोहरबाट टेकुस्थित ट्रान्फरस्टेसनमा कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । 

फोहरको वर्गीकरण बिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थान अभावको कारण समय समयमा समस्या आउने गरेको छ । कामपाले यसरी मल बनाउने कामलाई ३२ वटै  वडामा पनि थाल्ने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्