रामचन्द्रलाई राष्ट्रपति बनाउने जिम्मा पूर्णबहादुरलाई 

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलीय गठबन्धनको बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन कार्यदल बनाउने निर्णय गरेको छ । 

गठबन्धनमा आबद्ध सबै दलबाट १–१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने निर्णय भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

‘८ दलीय गठबन्धनको साझा उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउन कार्यदल बनाएर काम गर्ने निर्णय भएको छ । सबै दलका १÷१ जना प्रतिनिधि रहनेछन् । कार्यदलको संयोजक को हुने भन्ने तय भइसकेको छैन । तर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नै संयोजक हुने सम्भावना छ’, श्रेष्ठले भने । 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँगै कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

खड्का कार्यदलको संयोजक बनेपछि पौडेललाई राष्ट्रपति चुनावमा जिताउने जिम्मेवारी पनि उनकै काँधमा आउने छ ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार भएकाले खड्का नै कार्यदलको संयोजक हुने सम्भावना रहेको श्रेष्ठले बताए । 

८ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।

कार्यदलले १८ फागुनमा ८ दलका संघीय सांसदहरूसँग छलफल गर्नेबारे बालुवाटार बैठकमा निर्णय भएको उनले बताए । 

त्यसैगरी, १९ गते प्रत्येक प्रदेशमा कार्यक्रम गर्ने र त्यसको समन्वय र व्यवस्थापन कार्यदलमार्फत गर्ने निर्णय पनि बालुवाटार बैठकमा भएको उनले बताए । 

त्यसैगरी, फागुन २३ भित्र सबै प्रदेशसभाका सांसद काठमाडौँ आइसक्नुपर्ने र २४ गते गठबन्धनका सबै दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने बारेमा पनि बालुवाटारमा छलफल भएको श्रेष्ठले बताए ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार