आज जेलमुक्त हुँदै पल शाह

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल (पूर्णविक्रम) शाहलाई आज जेलमुक्त हुँदैछन् । 

बालयौन दुरुपयोगको मुद्दामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका अभिनेता शाहको मुद्दामा आइतबार उच्च अदालत पोखरामा सुनुवाइपछि सफाइ पाएछि उनी आज जेलमुक्त हुने भएका हुन् । 

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बदर गर्दै शाहमाथि लगाइएको अभियोग दाबी नपुग्ने फैसला सुनाएको थियो । 

उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । 

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह आजै कारागार मुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आइतबार जानकारी दिएकी थिइन् ।

नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्षको फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । 

शाह फागुन १५ गते प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

शाहले सोही नाबालिकालाई नवलपरासी पूर्वमा पनि बलात्कार गरेको आरोपमा जिल्ला अदालत नवलपरासी पूर्वमा पनि मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाई दिएको थियो । तर, बालयौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

पल शाह नवलपुर जिल्ला अदालतको उक्त फैसलाविरूद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत तनहुँले भने शाहलाई नाबालिका बलात्कारको आरोपमा सफाइ दिएको थियो । माघ ३ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियोे । 

उच्च अदालत पोखरामा पुनरावेदन गर्दै शाहले आफूलाई सफाई दिन माग गरेका थिए । 

सरकारी वकिल कार्यालयले भने शाहलाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको थियो । 

दुवै पक्षको पुनरावेदनपछि उच्च अदालत पोखराले आइतबार फैसला सुनाएको हो ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०६:३७
प्रतिक्रिया दिनुहोस्