सहकारीमा समस्या आउनुमा सरकारको कमजोरी

आइतबार, फागुन १४, २०७९

काठमाडौं– पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा संकट कारण र समाधान’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अधिकांश सहकारी अभियानकर्मीहरुले सरकारको कमीकजोरीको कारण सहस्या आएको दाबी गरेका हुन् । 

उनीहरुले सहकारीलाई नियमन गर्ने निकायहरुले जथाभावीरुपमा सहकारी दर्ता गर्नाले समस्या बढ्दै गएको बताए । उनीहरुले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने हुँदा समस्या आएको उल्लेख गरे । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने गर्दा समस्या आएको बताए । सहकारी दर्ता गरी कडाईका साथ नियमन गर्नसक्दा नै ओरियन्टल, सिभिल सहकारीको जन्म भएको कँडेलले बताए । सहकारी कर्जा सूचना केन्द्र र सहकारी ऋण असुली न्यायाधीकरण गठन गर्नुपर्ने कँडेलले बताए । 

सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ९० प्रतिशत सहकारीका सञ्चालक कम्पनीमा आवद्ध रहेकाले समस्या आएको बताए । कम्पनीका सञ्चालक सहकारीका अध्यक्ष हुने र संस्थाको रकम बिना धितो कम्पनीमा लगानी गर्दा थप समस्या आएको उप्रेतीको भनाई छ ।

सहकारीको पैसा कम्पनीमा जान नहुने र कम्पनीमा भएको पैसा सहकारीमा जान नहुने ऐन भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाई छ । सहकारीमा देखिएको समस्या समाधान गर्न ऐन कानुनमा रहेका समस्याको सम्बोधन आवश्यक रहेको उप्रेतीले बताए । 

त्यस्तै, नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्नसक्ने बताए । राष्ट्र बैंकले कारबाही गर्ने अधिकार पाउने हो भने नियमन गर्न सकिने शिवाकोटीको भनाई छ । सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रीय बैंकले नियमनको जिम्मेवारी नलिने उनले बताए । 

सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने भनेर घरजग्गामा लगानी गर्नेतर्फ लाग्दा समस्या देखिएको शिवाकोटीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार