माथिल्लो तामाकोसीको बिजुली बिक्रीबाट ६ महिनामा ५ अर्ब आम्दानी

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमाससम्म (६ महिना) मा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् बिक्रीबाट झन्डै ५ अर्ब रुपैयाँ आम्दानी गरेको छ । 

४५६ मेगावाटको उक्त आयोजनाले सो अवधिमा ४ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबर आम्दानी गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ । 

कम्पनीले हालै जारी गरेको वित्तीय विवरणअनुसार सो अवधिमा झन्डै ५ अर्ब रुपैयाँ आम्दानी गरे पनि बिक्रीपछिको आय भने घटेको देखिएको छ ।

सुख्खायामका कारण दोस्रो त्रैमास अवधिमा विद्युत् उत्पादन कम भएको र २०७९ कात्तिक ८ गतेदेखि १८ गतेसम्म (१० दिन) विद्युत् केन्द्रको सबै युनिट बन्द गरी मर्मत सम्भार गरिएकाले विद्युत् बिक्रीबापतको आय घट्न गएको जनाइएको छ ।

जसअनुसार चालु आवको दोस्रो त्रैमास अवधिमा ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ विद्युत् बिक्री आय घटेको देखिन्छ ।

विद्युत् बिक्री आम्दानीबाट समीक्षा अवधिमा सञ्चालन खर्च, रोयल्टी, ह्रासकट्टीलगायत सम्पूर्ण खर्च कटाउँदा आम्दानी ऋणात्मक देखिएको छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विद्युत् बिक्रीबाट भएको आम्दानीमा सम्पूर्ण खर्च कटाउँदा २ अर्ब ८२ करोड १६ लाख रुपैयाँ सञ्चालन खर्चपछि नाफा देखिन्छ । 

उक्त नाफामा सम्पूर्ण वित्तीय खर्च ३ अर्ब ६४ करोड ६४ लाख कटाउँदा कम्पनीको ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ आय घटेको देखिन्छ । 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत २०७८ भदौ २५ देखि पूर्ण रूपमा विद्युतको व्यावसायिक उत्पादन सुरु भएको थियो । आयोजना निर्माणमा करिब ७३ अर्बभन्दा बढी रकम लगानी भइसकेको छ । 

उक्त लगानी रकम संस्थापक सेयरधनी, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण ४६ अर्ब ७९ करोड (निर्माण अवधिको ब्याजसहित) छ भने विद्युत प्राधिकरणको अल्पकालीन ऋण २ अर्ब रुपैयाँ छ । 

गत आर्थिक वर्ष २०७३/०७४ भित्र सम्पन्न हुने लक्ष्य लिए पनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेला जारी बन्दाबन्दी (लकडाउन) का कारण आयोजना निर्माण अवधि ४ वर्ष बढ्न गयो । जसका कारण आयोजनाको लागत, ऋणको ब्याज, विदेशी मूद्राको मूल्य वृद्धि, ह्रासकट्टीलगायत खर्च बढ्दा आयोजनाको लागत मूल्य दोब्बर बढ्यो ।

कुल ३५ अर्ब २९ करोड (निर्माण अवधिको ब्याजबाहेक) सुरुआती लागत अनुमान गरिएको आयोजना निर्माण सम्पन्न हुँदासम्म लागत बढेर ७३ अर्बभन्दा बढी पुग्यो ।

आयोजना आव २०६५/०६६ देखि निर्माण सुरु भएको थियो । सो अवधिमा ३५ अर्ब २९ करोड र निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोडसहित कुल ४८ अर्ब ५१ करोड हुने अनुमान गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्