महिला विश्वकप क्रिकेट फाइनल आज : दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

आइतबार, फागुन १४, २०७९

काठमाडौँ –आईसीसी महिला टी–ट्वान्टी विश्वकपको फाइनल आज हुँदैछ ।  उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल केप टाउनमा नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । घरेलु टोली दक्षिण अफ्रिका महिला र पुरुष क्रिकेटको कुनै पनि फरम्याटको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो ।

साविक विजेता अस्ट्रेलिया भने सातौँ पटक टी–ट्वान्टी विश्वकप फाइनल खेल्दैछ । त्यसमध्ये उसले ५ उपाधि जितेको छ । अस्ट्रेलियाले सेमिफाइनलमा भारतलाई ५ रनले पराजित गरेको थियो । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ६ रनले हराएको थियो ।

जारी प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमने–सामने हुँदैछन् । यसअघि समूह चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्