नेता खनाल स्वदेश फिर्ता

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट आज स्वदेश फिर्ता भएका छन् ।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उहाँ आज राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बङ्गलादेश प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बङ्गलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए ।

यसैगरी बङ्गलादेशमा यही वर्षको डिसेम्बरमा हुन गइरहेको निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा लिएको नेता खनालले जानकारी गराए ।

भ्रमणका क्रममा बङ्गलादेशको मानवअधिकारका विषयमा जानकारी दिनुका साथै निर्वाचन आयोगमा पनि पुगेको उनले जानकारी दिए । डिसेम्बरमा बङ्गलादेशमा हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित तरीकाबाट कसरी गर्ने भन्ने तयारीमा त्यहाँका मानवअधिकारवादी, निर्वाचन आयोग लागि परेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्