यू–१९ विश्वकप छनोट : नेपालको सानदार जित, १०० रनमै समेटियो कुवेत 

शनिबार, फागुन १३, २०७९

काठमाडौँ- आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको विशाल जित हात पारेको छ ।

अर्जुन कुमाल र देव खनालको शतकमा नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवेत आकाश चन्दको ६ विकेट सहयोगमा ३०.५ ओभरमा १०० रनमा सीमित हुँदै अलआउट भयो ।

कुवेतका ओपनर जुडे क्रिस्टोफर सालदानाले सर्वाधिक २६ रन बनाए, अर्का ओपनर हित किशोर भाइ यहिन्सु १६ रन र यासुफ सिद्धिक १९ रन बनाए । कुवेतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका बलर आकाश चन्दले सर्वाधिक ६ विकेट लिए । उनले ९ ओभरमा ४३ रन खर्चिए । हेमन्त धामी र दिपेश कँडेलले २–२ विकेट लिए ।

नेपालका ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रनको  विशाल लक्ष्य दिएको थियो । ओपनर कुमालले ११२ बलमा १२ चौकाको सहयोगमा १०८ रन बनाए । यस्तै, देव खनालले १०५ बलमा सतक प्रहार गरे । उनले ८ चौका र १ छक्काको सहयोगमा ११७ बलमा १२५ रन बनाएर आउट भए ।  

प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।

नेपालले तेस्रो खेल हङकङविरुद्ध २७ तारिखमा खेल्नेछ । चौथो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसँग अन्तिम खेल खेल्नेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू९१९ विश्वकपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्