मदन भण्डारी राजमार्ग : धरान–झापा सडकखण्डको भौतिक प्रगति ४० प्रतिशत

शनिबार, फागुन १३, २०७९

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनियर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमध्ये ९५ दशमलव ७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उनले जानकारी दिए । 

इञ्जिनियर शर्माले पाँचवटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको जानकारी दिए । उनका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किमी, मोरङमा ३६ किमी, झापामा ३५ दशमलव ८ किमी र इलाममा १० दशमलव ९८ किमी सडक निर्माणको काम भइरहेको छ । 

उनले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किमी सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताए । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो । 

उनले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताए । धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र एक सय ३१ किमी सडकका लागि संघीय सरकारले रु १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ । 

सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म रु चार अर्ब ८७ करोड खर्च भइसकेको इञ्जिनिउर शर्माले बताए । ‘सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ,’ उनले भने, ‘अझै ३५ दशमलव १३ किमी सडकको ठेक्का लाग्नै बाँकी छ ।’

संघीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किमीको हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्