सत्ता गठबन्धनको भविष्य अनिश्चित : एमाले उपमहासचिव ज्ञवाली

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ८ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको छाएको लाबी गरेका छन । राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने ८ दलको निर्णयसँगै सत्ता गठवन्धनको भविष्यसमेत अनिश्चित बनेको उनले टिप्पणी गरे ।

‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ’ ज्ञवालीले भने । 

नेता ज्ञवालीले गठबन्धनको सबैभन्दा बढी लाभ लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री दाहालले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बनाए । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’

विकसित घटनाक्रमबारे एमालेले शनिाबर सचिवालय बैठक बसेर पार्टीको आफ्नो धारणा बाहिर ल्याउने पनि नेता ज्ञवालीले जानकारी दिए । ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरूको चलखेल निकै देखिएको पनि बताए । ‘नेपालको आन्तरिक मामिलामा आफै निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले भने ।

यस अघि शुक्रबार साँझ सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेस सहितका ८ दलले नयाँ गठबन्धन बनाएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २१:१८
प्रतिक्रिया दिनुहोस्