दलहरूले राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजे : केसी

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिको पदलाई कार्यकारी बनाउने खेल भइरहेको टिप्पणी गरेका छन् । 

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले राष्ट्रपतिको पद अलांकारिक भएपनि कार्यकारी राष्ट्रपतिको रुपमा प्रयोग गर्न खोजिएको बताए ।

उनले राष्ट्रपतिको पदलाई सक्रिय बनाउन खोज्नुले जनतामाझ नराम्रो सन्देश गएको पनि बताए ।

दलहरुले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजेसँगै शक्ति राष्ट्रहरुको पनि दौडधुप बढेको उनको भनाइ छ । शक्ति राष्ट्रहरुको बढ्दो आवत–जावतले राजनीतिक पार्टीहरुको स्तर पनि गुमेको उनको टिप्पणी छ । 

उनले भने, ‘अलंकारिक राष्ट्रपतिलाई कार्यकारीको रुपमाझैँ जुनखालले खेल भएको छ, र यिनका कमजोरीबाट शक्तिराष्ट्रहरुको पनि दौडधुप छ । यसले गर्दाखेरी यो नेपाली जनताको बीचमा मात्रै होइन दुनियाँका अगाडी राम्रो सन्देश गएको छैन ।’

नेपाली काँग्रेससहितको पुरानो पाँचदलिय गठबन्धन बन्न लागेको पनि उनले बताए । नयाँ सरकार बनेपनि राष्ट्रिय जनमोर्चाको नीति सरकारमा जाने नरहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्