सन्दीपले पाएनन् विदेश जाने अनुमति

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा रोक लगाएको छ । बलात्कार अभियोग लागेका क्रिकेटर लामिछानेले विदेशमा गएर खेल्नको लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त आदेश दिएको हो ।

आदेश अनुसार सन्दिप विदेश भ्रमणमा जान पाउने छैनन् ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि युएई जाँदैछ। लामिछानेले सो खेलको लागि आफू पनि जान पाउनु पर्ने माग गर्दै निवेदन दिएका थिए । 

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। सोही कारण लामिछानेले विदेश जाने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्