लोसपा नेता भण्डारी भन्छन्– ६ बजे बालुवाटार जान्छौँ, आफ्ना कुरा राख्छौँ

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– पुस १० अघिको सत्ता गठबन्धन ब्युँताएर त्यसमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समावेश गर्ने पहल भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितको सो गठबन्धनमा लोसपालाई पनि सहभागी गराउने पहल भएको हो ।

पुस १० अघिको सो गठबन्धन ब्युँताउने र गठबन्धनको तर्फबाट राष्ट्रपतिकाे साझा उम्मेदवार बनाउने पहल भइरहको समयमा लोसपालाई पनि सहभागी गराउन लागिएको हो ।

सो गठबन्धनले आज साँझ बैठक गरेर राष्ट्रपतिकाे साझा उम्मेदवार तय गर्ने बताएकाे छ ।

पुस १० अघिको सत्ता गठबन्धनमा नभएको लोसपालाई पनि समावेश गर्न आज साँझको बैठकमा सो दललाई पनि बोलाइएको छ ।

लोसपा आफैँले राष्ट्रपतिमा दाबी गरिरहेको भए पनि सो बैठकमा गएर आफ्ना कुरा राख्ने लोसपा नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

आज साँझ ६ बजे बालुवाटार आउनु भनेर बोलाइएको छ, हामी जान्छौँ । त्यहाँ गएर आफ्ना कुरा राख्छौँ,’ नेता भण्डारीले सिएन नेपालसँग भने ।

लोसपाले आफ्नो पार्टीका नेता महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन गृहकार्य गरिरहेको छ । लोसपाले केही दिनअघि नै नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र जस्ता ठुला दलका शीर्ष नेतासँग भेटघाट गरी नेता ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन आग्रह गरिरहेको छ । 

पुस १० अघिको गठबन्धनबाट नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति हुनै लागेको बैठकमा लोसपालाई पनि बोलाइएको हो ।

सो बैठकमा लोसपा किन सहभागी हुँदै छ भन्ने प्रश्न पनि उठेको छ ।

‘हामीले राष्ट्रपतिमा दाबी छोडेका छैनौँ, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने बैठकमा बोलाइएको छ । त्यहाँ नजाने भन्ने कुरा हुँदैन, हामी जान्छौँ, आफ्ना कुरा राख्छौँ, उहाँहरूका कुरा सुन्छौँ । हामीले हाम्रो अडान छोडेका छैनौँ,’ नेता भण्डारीले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्