बालुवाटार सहमति

रामचन्द्र राष्ट्रपति, माधव नेपाल प्रचण्डले ‘दिए जति’ समय प्रधानमन्त्री 

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– पुस १० अघिको सत्ता गठबन्धन ब्युँतिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले पुस १० अघिको सत्ता गठबन्धन ब्युँताउने सहमति गरेको हो ।

आजको बैठकमा अधिकांश विषय सकारात्मक ढंगले अघि बढेको र साँझ ५ बजे फेरि बसेर राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने निर्णय भएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैठकपछि जानकारी दिए ।

बैठकमा आएका विषयका सन्दर्भमा दलहरूले आआफ्नो पार्टीमा आवश्यक छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे फेरि बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति भएको हो ।

यस्तै, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेसँग गठबन्धन नहुने बताएका छन् ।

उनले नयाँ गठबन्धन बन्ने र सोही गठबन्धनबाट साझा उम्मेदवार तय हुने बताएका हुन् । 

आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी भएर बालुवाटारमा छलफल भएको थियो ।

सो छलफलमा राष्ट्रपतिको निर्वाचन तथा ‘पावर सेयरिङ’बारे पनि छलफल भएको थियो ।

छलफलमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति भइसकेको स्रोतले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राखेको सो प्रस्तावप्रति एकीकृत समाजवादी पनि सकारात्मक भएपछि नेता पौडेल राष्ट्रपति बन्ने करिब तय भएको हो ।

एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने लबिइङ गरिरहेको थियो ।

यस्तै, उपराष्ट्रपति भने जनता समाजवादीले पाउने भएको छ । पुस १० मा एमालेको विशेष पहलमा बनेको वर्तमान सत्ता गठबन्धनमा उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि पुरानो गठबन्धन ब्युँताउँदा सो पद जनता समाजवादीलाई दिन माओवादी तयार भएको हो ।

सरकारको नेतृत्व भने आलोपालो हुने भएको छ । पहिलो कार्यकाल माओवादी केन्द्रले नै गर्ने सहमति बालुवाटारमा जुटेको हो । 

स्रोतले दिएको जानकारीअनुसार माओवादीले ३ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसपछिको १ वर्ष सरकारको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।

त्यसपछि चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिमा दाबी गरिरहेका थिए । उनलाई पनि केही समय प्रधानमन्त्री बन्न दिने गरी सहमति निर्माण गरिएको हो ।

राष्ट्रपति पद छाड्नुपर्दा १ वर्षभन्दा बढी समय सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग नेपालले गरेका थिए ।

नेपालको सो दाबीमा प्रचण्डले ‘मिलाउने’ आश्वासन दिएको स्रोतको भनाइ छ ।

‘सहमतिअनुसार ३ वर्ष माओवादीले र १/१ वर्ष क्रमशः एकीकृत समाजवादी र कांग्रेसले सरकारको नेतृत्व गर्ने भनिएको छ । यसमा माधव नेपालको गुनासो थियो, प्रचण्डले मिलाउँछु भन्नुभएको छ, त्यसैले माधव नेपालले कम्तीमा १ वर्ष र बढीमा प्रचण्डले ‘दिए जति’ समय प्रधानमन्त्री हुनुहुन्छ,’ स्रोतले भन्यो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको सरकारलाई नै निरन्तरता दिन दलहरू सहमत भएका हुन् । 

नयाँ सहमति भएपछि प्रधानमन्त्री प्रचण्डले सरकार पुनगर्ठन गर्नेछन् । सरकार पुनर्गठन गर्दा अहिले सरकार बाहिर रहेका नेपाली कांग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीलाई पनि समेट्ने तयारी दलहरूले गरेका छन् ।

नयाँ समीकरण बनेपछि अहिले सरकारमा भएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने विश्लेषण गरिएको छ । 

यस्तै, अब बन्ने गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि समेट्ने प्रयास भएको छ । यी २ पार्टी गठबन्धनमा समावेश भएमा सो गठबन्धनको बहुमत पनि पुग्छ ।

अहिले जनमत पार्टी सरकारमा नै छ भने लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा गएको छैन । यद्यपि, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो पार्टीका नेता महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन पहल गरिरहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्