त्रिभुवन आर्मी क्लब केपी ओली कपको सेमिफाइनलमा

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम ४ मा पुगेको हो । 

खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा आर्मी सफल भयो ।

आर्मीका जगजित श्रेष्ठ, टेकबहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र विक्रम धिमालले गोल गरे ।

त्यसअघि खेलको ३२औँ मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५३औँ मिनेटमा एनआरटीका कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

आयोजक राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्