सर्लाहीमा रासायनिक मल वितरण

शुक्रबार, फागुन १२, २०७९

सर्लाही– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ । 

स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिए ।

उनका अनुसार २० स्थानीय तह रहेको जिल्लाका २०० वडाबाट १–१ सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल वितरण थालिएको हो ।

जिल्लाको लालबन्दीमा १७, हरिवनमा ११, बागमतीमा १२, ईश्वरपुरमा १५, बरहथवामा १८, मलंगवामा १२, हरिपुरमा ९, हरिपूर्वामा ९, बलरामा ११, गोडैतामा १२, कविलासीमा १०, चक्रघट्टामा ९, चन्द्रनगरमा ७, धनकौलमा ७, ब्रम्हपुरीमा ७, रामनगरमा ७, विष्णुमा ८, कौडेनामा ७, पर्सामा ६ र बसबरिया गाउँपालिकामा ६ थोक बिक्रेता रहेको कार्यालय प्रमुख मगरले जानकारी दिए ।

उनका अनुसार जिल्लामा आएको २० हजार ४०० बोरा रासायनिक मल जिल्लाका २०० वटै डिलरलाई दामासाही रूपमा वितरण सुरु गरिएको छ ।

यसमा हरेक डिलरलाई ९५ बोरा युरिया, ५ बोरा डिएपी र २ बोरा पोटास गरी २०० वटा डिलरलाई २० हजार ४०० बोरा रासायनिक मल वितरण गरिने कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले गहँु, मकै, मुसुरो, तरकारीका साथै उखुको ‘सिजन’ रहेको र जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर सबै थोकबिक्रेतालाई दामासाही रूपमा मल वितरण सुरु गरिएको प्रजिअ इन्द्रदेव यादवले बताए ।

सरकारले युरिया प्रतिबोरा ८२१, डिएपी प्रतिबोरा २ हजार २७१ र पोटास प्रतिबोरा १ हजार ६७१ रुपैयाँमा डिलरलाई दिने र स्थानीय तहले निर्धारण गरेको दरअनुसार थोक बिक्रेताले जिल्लाका किसानलाई मल बिक्री गर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले मल बिक्री–वितरणमा पादर्शिता ल्याउन थोक बिक्रेताले किसानलाई बिक्री गरेको मलको तथ्यांक, खाता र प्रतिवेदन प्रमाणित गर्न पनि अनुरोध गरेको छ ।

मल बिक्री–वितरणमा केही समस्या वा गुनासो आएमा अनुगमन समितिले अनुगमन गर्दा डिलरले किसानलाई बिक्री वितरण गरेको मलको बिल, खाता नम्बर र प्रतिवेदन प्रमाणित गर्न राख्न अनुरोध गरेको छ ।

जिल्लाका किसानले बाली लगाउने समयमा मल नपाएको गुनासो गर्दै आएका थिए । मल वितरणसँगै अब जिल्लाका किसानलाई यो सिजनमा मल नपाउने समस्या हट्ने जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार