वन्यजन्तुका कारण गहुँ खेतीमा ह्रास

शुक्रबार, फागुन १२, २०७९

कावासोती– पूर्वी नवलपरासीको कावासोती–११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँको खेती गर्न छाडेको करिब ५ वर्ष पुग्यो ।

नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेष गरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उनले आफ्नो खेतबारीमा गहुँ खेती नै गर्न छाडेका हुन् ।

पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँ खेती गर्न छाडेका हुन् ।

जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिएको भए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँ खेतीमा कमी आएको छ ।

केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिंगे गैँडाले केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउँछन् । ‘सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैँडाले फेदसम्मै खाइदिन्छ, त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुँदैन,’ उनले भने ।

निकुञ्जबाट निस्किने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भए पनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती–१२ का राजेश लम्सालले बताए ।

‘दुःखले लगाएको खेती गैँडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि  साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो’, उनले भने ।

विशेष गरी एकसिंगे गैँडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैँडा गहुँ खेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँ खेती गर्ने किसानको संख्या क्रमशः घट्दै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शंकर पौडेलले बताए । 

मध्यवर्ती क्षेत्रका किसानले लगाएको गहुँ खेती गैँडालगायत वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँ खेती घटदै गएको पौडेल बताउँछन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा गहुँ खेती गर्ने किसान घट्दै गए पनि उत्तरी क्षेत्रमा भने गहुँ खेती हुने गरेको पौडेलले बताए । उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८÷७९ मा ७ हजार ४४० हेक्टर जमिनमा २० हजार ९३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

चालु आव २०७९÷८० मा ७ हजार ४४५ हेक्टर जमिनमा २१ हजार २१८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कैलालीका गहुँ खेतीमा रगिन गरिँदै
शुक्रबार, फागुन १२, २०७९