सांसद अरुण चौधरीले पनि राष्ट्रपतिमा भोट हाल्न पाउने

मतदाताकाे अन्तिम नामावाली आज
शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्दै छ । 

मतदाता नामावलीमा समावेश नाममा दाबी विरोध, उजुरी र छानबिनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि १३ गते उमेदवारी दर्ता हुने छ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको कार्यतालिका छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुइटा मतदान केन्द्र रहने छन् ।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले पनि मतदान गर्न पाउने भएका छन् । सांसद पदको निलम्बन फुकुवा भएसँगै उनले राष्ट्रपतिको निर्वाचनमा भाग लिन पाउने भएका हुन् । यसअघि प्रकाशित मतदाता सूचीमा उनको नाम समावेश थिएन । 

बिहीबार निर्वाचन आयोगमा सांसद चौधरीमाथि संसद्ले गरेको निलम्बन फुकुवाको पत्र पुगेसँगै उनको नाम मतादाता सूचीमा समावेश गरेर अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 

यस्तै आयोगमा परेका अन्य ४ वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्