Nic Ad Nic Ad
Nic Ad Nic Ad

१७ करोडको लागतमा ग्वार्कोमा फ्लाइओभर बन्दै

१ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य 
शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणको काम सुरु भएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी ग्वार्कोेमा फ्लाइओभर निर्माण सुरु भएको सडक विभागका प्रवक्ता रामहरि पोखरेलले सिएन नेपाललाई जानकारी दिए । निर्माण पूर्वका काम र परियोजनाको अध्ययन तथा डिजाइनको काम पूरा सकिएपछि निर्माण सुरु गरिएको पोखरेलले बताए ।

कलंकीदेखि कोटेश्वर सडक खण्डअन्र्तगत पर्ने ग्वार्को क्षेत्रमा अत्यधिक ट्राफिक जाम हुने गर्छ । ट्राफिक जाम कम गर्दै यातायात सवारी व्यवस्थापन गर्नका लागि ग्वार्कोमा फ्लाइओभर आवश्यक देखिएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता पोखरेलका अनुसार ग्वार्कोसहित चक्रपथ विस्तार आयोजनाअन्र्तगत विस्तारित सडकखण्डका अन्य दुई स्थानमा पनि फ्लाइओभर निर्माण गरिनेछ । अन्य पाटन र बल्खु क्षेत्रमा पनि फ्लाइओभर बन्ने उनले बताए ।

पहिलो चरणमा ग्वार्कोबाटै सुरु गर्न लागिएको पोखरेलले जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार करिब ६ मिटर उचाइ हुने गरी फ्लाइओभर निर्माण हुनेछ भने त्यसको कुल लम्बाई ४५५ मिटरको हुनेछ । ब्यारेकेडहरू राखेर निर्माणको काम सुरु गरिएको छ । 

निर्माण भएपछि भने ग्वार्को चोकमा फ्लाइओभर मुनिबाट सवारी साधन क्रस गर्नेछन् । अहिले फ्लाइओभर निर्माण सुरु भइसकेकाले बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएको छ ।

त्यसैगरी, कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपांग्रे्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाई द्रूत मार्गबाट सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ । 

ग्वार्को फ्लाइओभरको एम-एस आशिष समानान्तर रेलिगर जेभी (संयुक्त)ले ठेक्का पाएको हो । कुल १७ करोडको लागतमा निर्माण अघि बढेको ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्ट्रक्सन (इपिसी) मोडलमा निर्माण हुनेछ । अर्थात, ठेक्का पाएको कम्पनीले नै फ्लाइओभरको डिजाइन, इन्जिनियरिङ र निर्माण गर्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्