राष्ट्रपतिका विषयमा टुंगो लगाउन दलहरूबीच आज निर्णायक वार्ता

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा सत्ता साझेदार दलहरूबीच नै साझा उम्मेदवार तय हुन सकिरहेको छैन । पूर्वसहमतिविपरीत आफूलाई माओवादी केन्द्रले धोका दिएको एमालेको वृत्तमा परिरहेको छ ।

यसैबीच, राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न भन्दै आज पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच निर्णायक वार्ता हुने भनिएको छ । बिहीबारको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक निष्कर्षविहीन टुंगिएको हाे ।

बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

आज फेरि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले दुवैसँग वार्ताको तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने कार्यक्रम छ ।

कांग्रेस र माओवादी केन्द्रसहितकाे पुरानाे गठबन्धनका नेताहरूबीच सहमति भएमा आजै अहिलेको गठबन्धन तोडिने सम्भावनासमेत छ । 

राष्ट्रपतिको चुनाव यही फागुन २५ मा हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्