मेलम्ची ठेक्का सम्झौता तोडेको सीएमसीसँग मुद्दा लड्ने सरकारको निर्णय

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– सरकारले मेलम्ची खानेपानी आयोजनाको काम पूरा नगरी एकतर्फी रूपमा काम छोडेर हिँडेको इटालियन कम्पनी सीएमसीविरुद्ध मुद्दा लड्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले विदेशी कानुन व्यवसायी राखेर विदेशी अदालतमा सीएमसीविरुद्ध मुद्दा लड्ने निर्णय गरेको हो ।

आयोजनाको काम पूरा नगरी २०७५ साल पुसमा सीएमसी इटली फर्किएपछि ठेक्का सम्झौता तोडिएको थियो । लगत्तै नेपाल सरकारले मेलम्ची खानेपानी आयोजनामा काम गरेको रकम नदिएको भनेर सीएमसीले सिंगापुरमा रहेको सिंगापुर इन्टरनेश्नल आर्विटेशन सेन्टरमा मुद्दा दायर गरेको छ ।

सो मुद्दाको डिफेन्ड गर्नका लागि मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय स्तरका कानुन व्यवसायी खोजेर मुद्दा लड्ने निर्णय गरेको हो ।

सीएमसी र नेपाल सरकारबीच भएको सम्झौता अनुसार अन्तर्राष्ट्रिय स्तरको ठेक्कामा पछि विवाद भएमा कहाँ मुद्दा हाल्ने भनेर सम्झौतामै उल्लेख भए अनुसार सिंगापुरमा रहेको सो निकायमा मुद्दा दायर गर्ने उल्लेख थियो ।

सो कम्पनीले नेपाल सरकारसँग झण्डै ७ अर्ब रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले सिएन नेपाललाई जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  २०:२४
प्रतिक्रिया दिनुहोस्