मेयर कप भलिबलको उपाधि बाराले जित्यो

बिहीबार, फागुन ११, २०७९

सर्लाही–महाशिवरात्री पर्वको अवसरमा हरिपुर नगरपालिका–७ स्थित धार्मिक एवं ऐतिहासिक चितायन मेला स्थलमा भएको अन्तर प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि बारा जिल्लाले हात पारेको छ ।

प्रतियोगिताको फाइनल खेलमा झापालाई ३–१ सेटमा पराजित गर्दै बारा विजेता बनेको हो । जितसँगै बाराले ८० हजार रूपैयाँ नगदसहित ट्रफी पाएको छ ।

उपविजेता बनेको झापा भने ५० हजार रूपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा सर्वोत्कृष्ट हुने बाराका विजय थापासहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।

लक्ष्मीनाथ युवा क्लब चितायनको आयोजना तथा हरिपुर नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा सर्लाही, बारा, झापा, सिन्धुली, मकवानपुर, महोत्तरी, धनुषा, सशस्त्र प्रहरीको २ नम्बर वाहिनी बर्दीवास र मेघरौल महोत्तरीसहित ९ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्