मदन भण्डारी राजमार्गको ३५ पुलमध्ये ४ को निर्माण सकियो

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये ४ को निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । 

मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको १३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ ।

उनले यो सडकमा पर्ने पुलमध्ये सदम, मुरङ्गी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए । निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र परेको छ । झापा सडकखण्डमा पर्ने १० वटा पुलको समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

‘सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ’, उनले भने, ‘यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ ।’ उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए । उनका अनुसार टाइटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ ।

निर्माणधीन पुलको लम्बाई २० मिटरदेखि ४०० मिटरसम्मका रहेको उनले बताए । १० अर्ब १३ करोड रुपैयाँको लागतमा १३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्