झापा–भद्रपुर गोल्डकप : मछिन्द्र क्लब विजयी, सेमिफाइनलमा प्रवेश

बुधबार, फागुन १०, २०७९

झापा– मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ । 

मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । 

मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एकरएक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुआती गोल गरे । उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए । यद्यपि खेलको अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधैँ गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे । खेलको ८६औँ मिनेटमा घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।

मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ बङ्गलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए । आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार