नेभिगेशन
खेलकुद

कर्णाली याक्सले गर्यो गुल्शन, नन्दन र विपिनसहित ६ खेलाडी रिटेन

काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रा. लीले नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र नन्दन यादवसँगै ६ खेलाडी रिटेन गरेको छ । 

मंगलबार कर्णाली याक्सले राष्ट्रिय टोलीका गुल्शन र नन्दनसँगै विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको कर्णाली याक्स स्पोर्ट्स प्रा. लीका निर्देशक गृहेन्द्र घिमिरेले बताए । 

‘पहिलो संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा हामीले ६ खेलाडीलाई विश्वास गरेको हौं,’   निर्देशक घिमिरेले भनेका छन्, ‘हाम्रो केही खेलाडी कर्णाली प्रदेशको प्रतिनिधित्व पनि गरेका छन् ।’

हालै गुल्शन र नन्दनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्कटल्यान्डमा भएको आईसिसी पुरुष विश्वकप लिग–२ खेलेका थिए । यस्तै, कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)कै उदयीमान खेलाडी घोषित भएका थिए । विपिनले अहिले नेपाल यु–१६ टिमको कप्तान हुन् । अर्जुन, दीपेन्द्र र युनिस विक्रम ठकुरी भने कर्णाली याक्स र कर्णाली प्रदेशको लागि खेल्दै आएका छन् । 

यस्तै, कर्णाली याक्सले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्ब्रेलाई रिलिज गरेको छ । ‘उहाँहरुलाई पनि टिममै राख्ने चाहना थियो । तर, प्रतियोगिताको नियमावलीका कारण विदाई गर्नुपर्ने अवस्था आयो,’  घिमिरेले भनेका छन् । 

कर्णाली याक्सले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । अघिल्लो सिजन भारतीय चर्चित ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्दै बलियो दाबेदारी दिने रणनीति तयार पारेको कर्णाली याक्स स्पोर्ट्स प्रा. लीका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद