सहमतिमै राष्ट्रपति चयन : मन्त्री किराँती

बुधबार, फागुन १०, २०७९

खाँदबारी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन् । 

राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो ।  

आज संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग पर्यटनमन्त्री किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनेमा ढुक्क हुन सबै पक्षलाई आग्रह गरे ।

नेकपा एमाले, नेपाली कांग्रेसलगायत सबै दलबाट स्वीकार हुने राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन नेकपा (माओवादी केन्द्र) ले अधिकतम प्रयास गरिरहेको उनको भनाइ थियो ।

राष्ट्रपतिमा सहमतिको विकल्प नभएको भन्दै उनले माओवादीले सबै दलले स्वीकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको बताए । 

राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन एमाले पनि सहमत हुने उनको भनाइ छ । गठबन्धन अहिले नै फुट्ने अवस्था नभएको पनि मन्त्री किराँतीले बताए । 

फरक प्रसंगमा मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए । ‘प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ । विदेशी संस्कृतिको फोटोकपी भन्दा नेपालीपन भए मात्र धेरै पर्यटन तान्न सकिनेछ,’ मन्त्री किराँतीले भने । 

उनले तुम्लिङटार विमानस्थलको नवनिर्मित भवनको समेत निरीक्षण गरे । भवन निरीक्षण गर्दै मन्त्री किराँतीले यही चैत मसान्तसम्म भवन निर्माण सम्पन्न गरेर बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्