राष्ट्रपतिको प्रस्ताव आएको छैन : नेकपा एस

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन् । 

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग खनालले यस्तो बताएका हुन् । उनले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताए ।

उनले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेन्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताए ।

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले  प्रतिगामी हर्कतहरू बढिरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरूसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताए ।

उपमहासचिव खतिवडाले पनि राष्ट्रपतिका लागि कुनै पनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गरे ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्