महन्थलाई राष्ट्रपति बनाउने प्रस्तावमा देउवाले दिए यस्तो जबाफ

ओली र प्रचण्डले के वचन दिएका छन् ठाकुरलाई ?
बुधबार, फागुन १०, २०७९

काठमाडौँ– महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन माग गर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता सकिएको छ ।

आज बिहान साढे ९ बजेदेखि देउवा निवासमा भएको भेटवार्ता सकिएको लोसपा नेता शरत्सिंह भण्डारीले जानकारी दिए । 

ठाकुरलाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार बनाऔँ भन्ने आफूहरूको प्रस्तावमा सभापति देउवाबाट सकारात्मक जबाफ आएको नेता भण्डारीको भनाइ छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा राष्ट्रिय सहमति जस्तै भयो, अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति त्यति अनुकूल छैन । प्रधानमन्त्रीले पनि राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्छ भनिरहनुभएको छ । यसैकारण सबैलाई मिलाएर जान सक्ने, राष्ट्रिय सहमतिको उम्मेदवार बनाउनका लागि उपयुक्त पात्र भएकाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाऔँ भन्ने प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका थियौँ, उहाँले सकारात्मक जबाफ दिनुभएको छ,’ नेता भण्डारीले सिएन नेपालसँग भने ।

सभापति देउवाले आफ्नो पार्टीबाट पनि राष्ट्रपतिमा उम्मेदवार हुने कुरा चलेको र यो प्रस्ताव पार्टीमा औपचारिक रूपमा राख्ने जानकारी गराएको नेता भण्डारीले जानकारी बताए ।

‘नेपाली कांग्रेस आफैँले राष्ट्रपतिमा उम्मेदवारी दिने भन्ने कुरा भएको छ, महन्थजी राष्ट्रपतिका लागि उपयुक्त पात्र हो, पात्रका बारेमा हाम्रो कुनै आपत्ति छैन, तर आफैँले उम्मेदवारी दिने भनिसकेकाले यो विषय (ठाकुरलाई राष्ट्रपति बनाउने विषय) कति सम्भव हुन्छ, म पार्टीमा औपचारिक रूपमा राख्छु भनेर सभापति देउवाले भन्नुभएको छ,’ नेता भण्डारीले थपे ।

यसअघि नै लोसपा नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए । सो भेटमा पनि अध्यक्ष ओलीले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन कुनै आपत्ति नभए पनि सरकार निर्माणको क्रममा भएको सहमति कार्यान्वयनले समस्या सिर्जना गर्न सक्ने संकेत गरेका थिए ।

‘सरकार बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने भन्ने सहमति भएको थियो, त्यसैले अहिले एमाले बाहेकबाट राष्ट्रपति बनाउने कुरा गर्दा सत्ता गठबन्धनबीच भएको सहमति एमालेले नै नमानेको अर्थ लाग्न सक्छ, त्यसैले हाम्रा केही अप्ठ्याराहरू छन्, नत्र महन्थजीलाई राष्ट्रपति बनाउन आपत्ति मान्नुपर्ने विषय छैन, उहाँ राष्ट्रपतिका लागि योग्य व्यक्ति हो भनेर अध्यक्ष ओलीले पनि भन्नुभएको छ,’ नेता भण्डारीले थपे ।

यस्तै, लोसपा नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेर महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रको पदाधिकारी बैठकबाट राष्ट्रपति चयनका विषयमा आवश्यक निर्णय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले गर्ने भन्ने पारित भएको छ ।

‘हामीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरौँ भन्ने जोड गरिरहेका छौँ, अहिले परिस्थिति पनि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने खालको नै छ । महन्थजीको नाममा राष्ट्रिय सहमति हुन्छ भने हामीलाई कुनै आपत्ति छैन भनेर प्रधानमन्त्री प्रचण्डले पनि भन्नुभएको छ,’ नेता भण्डारीले थपे ।

लोसपाले नेता ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन प्रस्ताव गर्दै राजनीतिक गतिविधि तीव्र बनाएको छ ।

यसै क्रममा प्रमुख राजनीतिक दलहरूका नेताहरूसँग भेटघाट भएको हो । यद्यपि, नयाँ राष्ट्रपतिका लागि नेपाली कांग्रेस र एमालेले आफ्नै पार्टीको उम्मेदवार बनाउने सार्वजनिक गरिरहेका छन् । नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदै छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्