मधेसमा फुसको छानो हटाउने अभियान

मंगलबार, फागुन ९, २०७९

वीरगन्ज– फुसको छानो हटाउने अभियानअन्तर्गत पछिल्लो १ वर्षको अवधिमा मधेस प्रदेशका ३ जिल्लामा जस्तापातासहितका १ हजार ४७ सुरक्षित घर बनाइएको छ ।

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठुलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना सञ्चालन गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा रौतहट, बारा र पर्साका विभिन्न बस्तीमा रहेका १ हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापातासहितको सुरक्षित घर बनाइएको हो ।

विभिन्न चुनौतीका बाबजुद रौतहटमा १०९ वटा, बारामा २५४ र पर्सामा ६८४ गरी १ हजार ४७ घरबाट फुसको छानो विस्थापित गरी जस्तापाताको छानो हालेर सुरक्षित आवास बनाइएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

यस्तै, बारामा २४३ वटा र पर्सामा ३४१  घरबाट फुसको छानो विस्थापित गर्ने कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सम्पन्न गरी हस्तान्तरण गरिने प्रमुख थापाको भनाइ छ । उनका अनुसार रौतहटमा ३ हजार ९५७, बारामा ३ हजार ४२१ र पर्सामा ३ हजार ८५१  गरी ११ हजार २२९ घरबाट फुुसको छानो हटाउने स्वीकृत भएकामा हालसम्म रौतहटमा ३ हजार २२०, बारामा २ हजार ६२२ र पर्सामा ३ हजार ६४७ गरी ९ हजार ४८९ आवासको सम्झौता भई काम भइरहेको छ ।

सम्झौता भएकामध्ये रौतहटमा २१५, बारामा १ हजार ५ र पर्सामा १ हजार ८१६ गरी ३ हजार ३६ वटा आवासका लागि पहिलो किस्ता निकासा दिएको प्रमुख थापाले बताए । बर्सेनि हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि जस्तापातासहितको सुरक्षित घर बनाउँदै आएको प्रमुख थापाको भनाइ छ । 

‘प्रत्येक घरका लागि ५० हजार रकम छुट्याइएको छ’, प्रमुख थापाले भने, ‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप २० हजार निकास दिने व्यवस्था छ ।’

सो कार्यक्रममा कुनै खास लक्षित वर्ग वा जात विशेषलाई नभई फुसको छानो भएका सबै परिवारलाई समेटिएको प्रमुख थापाको भनाइ छ ।

‘तराई मधेसका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ’, रौतहटको गरुडाका श्याम साहले भने, ‘जसका कारण बर्सेनि आगलागीका घटना हुने गरेका छन्, त्यसैले फुसको छानो हटाउनु जरुरी छ ।’

फुसको छानो हटाउन सकिए बर्सेनि हुने आगलागीका घटनामा कमी आउने उनले बताए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्