नेभिगेशन
समाचार

‘अधिकार नदिने हो भने प्रदेश सरकार जिविसजस्तो हुन्छ’ 

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको बताएका छन् । 

पोखरा उद्योग वाणिज्य संघद्वारा सोमबार मुख्यमन्त्रीको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई बलियो बनाउन साझा अधिकारका विषयमा कानुन बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए । 

अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र हालको जिसस (जिल्ला समन्वय समिति) जस्तो हुने जनाउँदै उनले कर्मचारी समायोजनमा अझै पनि समस्या रहेको बताए । 

संघीय सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको उनले टिप्पणी गरे ।

निजी क्षेत्रसँग मिलेर पुँजीगत खर्च बढाएर र ठुला परियोजना निर्माण गरेर गण्डकीलाई समृद्ध बनाउने उनले बताए ।

कालीगण्डकी ‘डाइभर्सन’को विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै मुख्यमन्त्री अधिकारीले भने, ‘कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठुला नेताले बोलेर हुन्छ ? उत्तरगंगा परियोजना सुनको अन्डा पार्ने प्रोजेक्ट हो, किन हामीलाई गर्न नदिने ? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।’

संघीय सरकारका विभिन्न कानुनी अवरोधका कारण काम गर्न अप्ठ्यारो परेको जनाउँदै उनले जग्गा प्राप्ति र भौतिक निर्माणमा वनले रोक्दा अप्ठ्यारो परेको प्रष्ट पारे । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अर्थतन्त्र चलायमान बनाउन पुँजीको लागत कम गर्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्रमैत्री व्यावसायिक वातावरण निर्माणका लागि पहल गर्न आग्रह गरे ।

पुँजीगत खर्च बढाउन, भौतिक पूर्वाधार निर्माणलाई गति दिन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटो अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न र औद्योगिक क्षेत्र स्थापनाको पनि माग गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनका लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गरे । उनले बिहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार