राष्ट्रपति चुनाव : किन ढुक्क छ कांग्रेस ?

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– राष्ट्रपति र प्रधानमन्त्री दुवै छाड्न नसकिने अडानका कारण सत्ताबाहिर पुगेको पीडाले विक्षिप्त भएको कांग्रेस राष्ट्रपति निर्वाचन नजिकिएसँगै उत्साहित हुन थालेको छ । 

पुस १० मा एमालेको आडमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि संसद्को ठुलो दल भएर पनि कांग्रेस रणनीतिक रूपमा पराजित भएको थियो । 

सम्पूर्ण रूपमा सत्ताको बागडोरबाट बाहिर पुगेको कांग्रेसका नेताहरू पुस १० को मध्याह्नपछि पराजयको पीडामा थिए । प्रचण्ड बालुवाटारबाट बालकोट पुगेको खबरले आहत भएका कांग्रेसका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटरमै झन्डै कुटाकुट नै गरेका थिए ।

प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने र दिन नहुने तर्क हुँदा झन्डै हात हालाहालकै अवस्था बनेको थियो । 

सत्ताबाट बाहिरिनुपरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठकसमेत फेस गर्न सकेका छैनन् ।

तत्कालका लागि प्रधानमन्त्री कांग्रेसले पाउन सम्भव नभए पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार जिताएपछि मात्रै केन्द्रीय समितिको बैठक बोलाउने योजनामा देउवा देखिन्छन् । सोही कारण उनले ३ पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक सारेका छन् । 

संख्यात्मक हिसाबले हेर्ने हो भने सत्तारूढ दलहरूको बलियो सत्ता साझेदारी छ । संसद्को ठुलो दल भएर पनि सत्ता राजनीतिमा भने अहिले कांग्रेस अल्पमतमा छ । तर, राष्ट्रपति भने कांग्रेसले नै पाउनेमा कांग्रेसका नेताहरू उत्साहित छन् । 

पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि भने कांग्रेसका नेताहरू राष्ट्रपतिको विषयलाई लिएर उत्साहित छन् । कांग्रेसका शीर्ष तहका नेताहरू नै कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नेमा विश्वस्त जस्तै देखिन्छन् । 

कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि वर्तमान सत्ता गठबन्धन राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दर्ताकै दिनबाट भत्किने खुला चुनौती दिँदै आएका छन् । 

अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस ठुलो दल भएकाले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने तर्क गर्दैै आएका छन् । 

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता सहयात्री दल नेकपा एमाले भने झस्किएको थियो । पुस १० मा भएको सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई दिएपछि राष्ट्रपति एमालेले पाउने भनिएको एमालेका नेताहरू बताउँछन् । 

तर, प्रधानमन्त्रीले भने पुस २६ पछि परिस्थिति बदलिएको तर्क गर्न थालेका छन् । 

पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मनोमालिन्य बढेको छ । अहिले प्रचण्ड र शेरबहादुर देउवाबीच पारपाचुके भएर पनि माया मार्न नसकेको जस्तो सम्बन्ध छ भने प्रचण्ड र ओलीबीच सम्बन्ध जोडिएको तर, माया बस्न नसकेको जस्तो अवस्था छ ।

प्रचण्ड र ओलीबीच राजनीतिक सम्बन्ध जोडिए पनि त्यो सम्बन्धलाई विश्वास र मायाले कस्न नसक्दा राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर कांग्रेसका नेताहरू उत्साहित छन् । 

आइतबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा नेताहरूलाई साथमा लिएर बालुवाटार गएका थिए । देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्री गगन थापा र पूर्व महामन्त्री कृष्ण सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

सोही भेटमा कांग्रेसका नेताहरूले राष्ट्रपतिमा कांग्रेसलाई सघाउन प्रधानमन्त्रीसमक्ष औपचारिक प्रस्ताव राखेका थिए । कांग्रेसको प्रस्तावको विषयमा पार्टीमा छलफल गर्ने जबाफ प्रचण्डले दिएका छन् ।

लगत्तै उनले सोमबार दिउँसो बस्ने गरी माओवादी केन्द्रको पदाधिकारी बैठक पनि बोलाएका छन् ।

कांग्रेसका नेताहरू एमाले र माओवादी केन्द्रको सहकार्य लामो समय टिक्दैन भन्नेमा विश्वस्त देखिन्छन् । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएयता ओली र प्रचण्डको ‘शत्रुतापूर्ण’ सम्बन्धले २ नेतामा विश्वासको वातावरण बन्न नसक्ने कांग्रेस नेताहरूको बुझाइ छ । 

सरकार सञ्चालनको क्रममा पनि ओली नै हाबी भएका कारण प्रधानमन्त्री प्रचण्डले असहज महसुस गरिरहेका छन् ।

यसैलाई इङ्गित गरेर कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्मा एमाले अध्यक्ष ओलीले सरकारलाई पिँजडामा राखेको अभिव्यक्ति दिएका थिए । 

एमाले अध्यक्ष ओलीले सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाएर आफैँ संयोजक बनेका छन् ।

संयन्त्र संयोजकको हैसियतमा उनले सरकारका काममा तोक–आदेश लगाउने खालको गतिविधि गरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट छन् । 

अर्कातर्फ, एमालेले धोका दिएको अवस्थामा प्रचण्डलाई कांग्रेसले साथ दिने भनेर कांग्रेसका नेताहरूले सार्वजनिक अभिव्यक्ति नै दिइरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड नै एमालेका उम्मेदवारलाई राष्ट्रपति बनाउन अनिच्छुक देखिएपछि कांग्रेसका नेताहरूको बनोबल बढेको हो ।

एमालेका उम्मेदवारलाई राष्ट्रपति बनाउँदा एमाले अध्यक्ष ओलीको विश्वासपात्र आउने र उसले सरकारको काममा असहयोग गर्न सक्ने प्रचण्डको बुझाइ छ । विगतको अभ्यासलाई हेरेर पनि प्रचण्ड एमाले अध्यक्ष ओलीसँग सशंकित छन् । 

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमाले वा कांग्रेसमध्ये जसको उम्मेदवारलाई सघायो, उसैले जित्ने अवस्था छ ।

संसद् विघटनको सिफारिस बदर गर्दै सर्वोच्च अदालतले ओलीलाई समेत प्रधानमन्त्रीबाट पदमुक्त गरिदिएपछि २०७८ असार २९ मा बालुवाटारबाट बालकोट गएका थिए । त्यसपछि एमाले नेतृत्वका प्रदेश सरकार पनि धमाधम ढलेका थिए ।

एमाले एकाएक सम्पूर्ण रूपमा सत्ताबाहिर पुगेको थियो । तर, ओलीले राष्ट्रपति कार्यालयमार्फत् शक्ति अभ्यास गर्न पाएका थिए । 

कांग्रेस, माओवादीलगायत दलले सरकार चलाएको भए पनि एमाले अध्यक्ष ओली राष्ट्रपति कार्यालयमार्फत् सत्तामाथि नै हाबी हुन खोज्थे । 

अब पनि एमालेकै राष्ट्रपति बनाउँदा त्यही विगत दोहोरिन सक्ने डरमा प्रचण्ड छन् । प्रचण्डको यो मनोविज्ञान कांग्रेसका नेताहरूले बुझेका छन् । 

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमाले वा कांग्रेसमध्ये जसको उम्मेदवारलाई सघायो, उसैले जित्ने अवस्था छ ।

त्यसो हुँदा प्रधानमन्त्रीलाई फकाउन सक्दा कांग्रेसका उम्मेदवारलाई जिताएर शीतल निवासमा पुर्‍याउन सकिने विश्वासमा कांग्रेस नेताहरू छन् । 

अर्कातर्फ, कांग्रेसको राष्ट्रपति हुँदा भारतलगायत विदेशी शक्तिको सहयोग पाइने आशा पनि प्रधानमन्त्री प्रचण्डमा छ । भेटमा प्रचण्डले यी विषय व्यक्त गर्ने गरेको कांग्रेसका नेताहरू बताउँछन् । 

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेपालको राजनीति निकै तरल बनेको छ । फागुन १३ गतेका लागि तोकिएको उम्मेदवारी दर्तापछि मात्रै राष्ट्रपति निर्वाचनको राजनीतिले क्रमशः आकार लिन थाल्नेछ ।

अहिले देखिएको कांग्रेसको उत्साह त्यसबेला झन् बढ्छ कि शिथिल हुन्छ भन्ने कुरा उम्मेदवारी दर्तापछि मात्रै देखिँदै जानेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्