नेभिगेशन
अर्थ विविध

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने कानुन बन्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी दिएका हुन् । 

सोमबार आर्थिक पत्रकार समाज सेजनले काठमाडौँमा आयोजना गरेको ‘संकटमा लघुवित्त, कारण र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताए । 

उनले लघुवित्तका ३३ लाखभन्दा बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए । पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए ।

उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे । वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको उनको भनाइ छ । 

उनले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै उनले मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढ्दै गएको बताए ।

लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अघि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने, घरमा चुकुल लगाइदिने गरेको गुनासो आएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न उनले आग्रह गरे । 

त्यस्तै, माइक्रोफाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए । उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरू बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए । 

लघुवित्तहरूले ग्रामीण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको उनको भनाइ थियो ।

उनले पछिल्लो समय लघुवित्तहरूमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताउँदै समस्या समाधान गरेर जान तयार रहेको जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती