नेभिगेशन
अर्थ विविध

तलब नदिएपछि गुण एअरलाइन्सका सबै जहाज ग्राउन्डेड

प्राधिकरणले पत्र लेखेर भन्यो : सबै उडान रद्द गर्नू

काठमाडौँ– गुण एअरलाइन्सले कर्मचारीलाई तलब नदिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको छ ।

गुण एअरलाइन्सका कर्मचारीले कम्पनीले आफूहरूलाई तलब सुविधा नदिएको भन्दै नागरिक उड्डयन प्राधिकरणमा उजुरी गरेका थिए । 

प्राधिकरणले सोमबार पत्राचार गरेर गुण एअरलाइन्सको उडानमा रोक लगाएको हो । 

उक्त एअरलाइन्समा कार्यरत कर्मचारीले काम गरेको तलब नपाएको गुनासो गरेपछि उडान रोक लगाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘उडानमा संलग्न हुने कर्मचारीले तलब नपाउँदा त्यसले उडान सुरक्षामा असर गर्छ । उनीहरूको दिमागमा तलब नपाएको विषय आइरहने हुँदा उडान सुरक्षा चुनौती थपिन्छ । त्यसैले उडानमा रोक लगाएका छौँ’, निरौलाले भने ।

कर्मचारीलाई तलब दिएर सहज अवस्था नबनाउँदासम्मका लागि उक्त एअरलाइन्सलाई उडानमा रोक लगाइएको निरौलाले बताए । 

गुण एअरलाइन्ससँग ७ वटा जहाज छन् । तर, उसले ३ वटा जहाजबाट मात्रै उडान गर्दै आएको थियो । 

समयमा तलब नपाएपछि केही दिनदेखि गुण एअरलाइन्सका क्रु मेम्बरले जहाज उडाउन नसक्ने बताउँदै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

गण्डकीमा घट्दै बर्खे धान खेती