Nic Ad Nic Ad
Nic Ad Nic Ad
सात साल

२००७ सालअघिको बैंक : नेपाल बैंक

कोे थिए पहिलो सिइओ र अध्यक्ष ?
आइतबार, फागुन ७, २०७९

काठमाडौँ– नेपालकै जेठो र पुरानो बैंक हो, नेपाल बैंक । २००७ सालमा प्रजातन्त्र स्थापना भएअघि नै खुलेको उक्त बैंकले ८५ वर्ष पूरा गरिसकेको छ । सो बैंक ११९४ साल कात्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापना भएको थियो । 

सुरुमा १० जना सेयर होल्डर (लगानीकर्ता) बाट सुरु भएको बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए । 

बैंक उद्घाटनको अवसरमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले आफ्नो भाषण दिएका थिए । उक्त अवसरमा बोल्दै जुद्धशमशेरले ‘राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहनाअनुरूप गर्न लागिएको यो कार्य मेरा लागि एकदम ठुलो अवसर हो’ भनेका थिए । 

‘आजसम्म नेपालमा कुनै बैंक खोल्न सकिएको थिएन । तर्सथ, उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा यो बैंक स्थापना हुन लागेको तथा श्री ५ बाट उद्घाटन हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुसीको क्षण हो,’ जुद्धशमशेरले भनेका थिए, ‘यस बैंकको उद्देश्य भनेको धनी, गरिब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु रहेको छ । उक्त उद्देश्य हासिल गर्न सबैबाट समर्थन तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा विश्वस्त छु ।’

juddha1676799807.jpg

यहीँबाट नेपालमा संस्थागत रूपमा बैंकिङ सेवाको सुरुआत भएको थियो । नेपाल बैंक स्थापना हुनुभन्दा पहिले सम्पूर्ण मौद्रिक कारोबार निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्थ्याे ।

न्युरोडस्थित गोलपार्क, धर्मपथमा एकमात्र कार्यालय र १२ जना कर्मचारीबाट सुरु भएको थियो, नेपाल बैंकको बैंकिङ कारोबार । 

त्यस समय औपचारिक बैंकिङको नयाँ अवधारणालाई धेरै कमले मात्र बुझ्नुका साथै धेरै कम मात्र यसप्रति विश्वस्त थिए । जति हकप्रद सेयर उठाउन सजिलो थिएन, त्यति नै निक्षेप परिचालन गर्न पनि गाह्रो थियो । परिणामस्वरूप बैंकले २५ लाख मूल्यको हकप्रद सेयर निष्कासन गरेकामा ८ लाख ४२ हजार मात्र उठाउन सफल भएको थियो । 

नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकाले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्‍याउने उद्देश्यका साथ यस बैंकको स्थापना भएको थियो ।

first1676799807.jpg

राणाकालीन समयमा खुलेको बैंकको उद्देश्य सर्वसाधरण सबैलाई सेवा प्रदान गर्नु थियो ।

बैंकले पहिलो वर्षको अन्त्यमा १९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । नेपाल बैंक कानुन १९९४ अनुसार स्थापना भएको बैंकको पहिलो सञ्चालक समिति अध्यक्ष केशर शमशेर जबरा थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ठाकुरसिंह कठायत थिए ।

बैंक स्थापना भएपछिको पहिलो ऋणी भाजुरत्न थिए । उनी व्यवसायी तथा किसान थिए । उनले आफूले उत्पादन गरेको घिउ मौज्दात (स्टक) राख्नका लागि १५ सय रुपैयाँ कर्जा लिएका थिए ।

logo1676799807.jpg

८ लाख ४२ हजार सेयर पुँजीबाट सुरु भएको बैंकको २०७९ असोज मसान्तसम्म सेयर पुँजी १४ अर्ब ४० करोड ५९ लाख पुगिसकेको छ ।

design1676799807.jpg

पहिलो वर्ष १९ लाख ८५ हजार कर्जा प्रवाह गरेको बैंकले यस वर्षको समीक्षा अवधिसम्म आइपुग्दा १ खर्ब ७३ अर्ब ५४ करोड २० लाख रुपैयाँ कर्जा सापट दिएको छ ।

समीक्षा अवधिमा बैंकसँग १८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ जगेडा तथा कोषमा जम्मा भएको छ । निक्षेप दायित्व १ खर्ब ९६ अर्ब ५८ करोड १९ लाख रुपैयाँ छ भने बैंंकले हालसम्म ३५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ लगानी गरिसकेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्