ऊर्जा सचिवस्तरीय बैठक : नेपाल र भारतबीच विद्युत् आदान–प्रदानमा भए ८ सहमति 

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– भारतमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा विद्युत् आदान–प्रदान र अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विभिन्न ८ वटा सहमति भएका छन् । 

ढल्केबर प्रसारण लाइबाट ६०० मेगावाट बिजुली आदान प्रदान हुँदै आएकोमा त्यसको क्षमता विस्तार गरी थप २०० मेगावाट गरी ८०० मेगावाटसम्म बिजुली आदानप्रदान गर्ने गरी सहमति भएको हो ।

टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति भएको छ । संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।

त्यस्तै, निर्माण भइरहेको ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट समेत विद्युत आदान प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने कुरामा सहमति भएको ऊर्जा, जलस्रोत थता सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए ।

१३२ केभी र सोभन्दा कम क्षमताका प्रसारण लाइनबाट समेत वर्षायाममा नेपालबाट भारतको विहार राज्यमा विद्युत् निर्यात गर्न आवश्यक संयन्त्र बनाउने सहमति भएको उनले बताए । दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निर्माणअन्र्तगत भारतीय खण्डको काम सन् २०२५ मार्चसम्म सम्पन्न गर्न छिट्टै सम्झौता गर्ने सहमति भएको छ । 

नेपाल–भारत सरकारबीच इनरुवा–पूर्निया र न्यू लम्की–बरेली ४०० केभी प्रसारण लाइनको निर्माण कार्य क्रमशः सन् २०२७-२०२८ र २०२८-२०२९ सम्ममा सम्पन्न गर्न निर्माण कार्य सुरु गर्ने सहमति भएको पनि भेटुवालले बताए ।

त्यस्तै, नेपालबाट ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सम्वन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेश गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशिकाबमोजिम भारतीय पक्ष स्वीकृती दिन सकारात्मक रहेको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्