रैथाने बाली संरक्षणलाई कर्णालीमा प्राथमिकता

आइतबार, फागुन ७, २०७९

कर्णाली –कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिएको छ । सरकारले यो वर्ष ‘कर्णाली प्रदेश दोस्रो रैथानेबाली संरक्षण तथा प्रवद्र्धन दिवस, मनाउँदै प्राथमितामा राखेको हो ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ६ फागुन २०७४ मा कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने निर्णय गरेबमोजिम त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

कृषि मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवाँ, लट्टेलगायतको संरक्षण, प्रवद्र्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरूप ६ फागुन २०७८ देखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवद्र्धन दिवस मनाउन सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।

‘कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने कुरा भ्रम हो’, उनले भने, ‘यो प्रदेश जहाँ गोठेमल प्रयोग गरी रैथाने बाली उत्पादन गरिन्छ । विषादी र मल प्रयोग छैन । त्यो हरित क्षेत्र हो । कम मात्रमा मलखाद तथा विषादी प्रयोग भएको पहेँलो क्षेत्र हो । जहाँ पूर्णतः विषादी र रासायनिक मल गरिएको छ त्यो खतरा अर्थात् रातो क्षेत्र हो ।’

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले पछिल्लो समयमा कोदो कहाँ फल्छ भनेर थाहा पाउन हाम्रा बालबालिकालाई गाह्रो अवस्था आएको बताए । रैथाने बालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्त्व र वास्तविकता बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने प्रमुख सुनारले सुझाव दिए ।

वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्राङ्गारिक सम्भावना बोकेको एकमात्र प्रदेश भएको दाबी गर े। ‘अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन । सुर्खेतमै आउँछ । तसर्थ रैथानी बालीको महत्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ’, अध्यक्ष खत्रीले भने ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकारात्मक सन्देश गएको बताए । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथाने बालीको उत्पादकत्वमा वृद्धि ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्