आज देशभर प्रजातन्त्र दिवस मनाइँदै

आइतबार, फागुन ७, २०७९

काठमाडौँ– नेपाली जनता निरंकुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

नेपाली जनताको संघर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए । आजको दिनलाई निरंकुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।

प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिएका छन् । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उनीहरूले श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रजातन्त्र दिवस मूल समारोहको समन्वयमा राजधानी काठमाडौँको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्यरूपमा मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको सहभागिता रहने छ ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्