पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

शनिबार, फागुन ६, २०७९

कास्की–सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् ।

पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन् । उनी १६औँ संस्करणको समेत विजेता हुन् ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले पाँच लाख रुपैयाँ पुरस्कार पाए ।

उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिए ।

pokhara marathoon 20231676730833.jpg

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो भए । उनले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय भए । उनले दुई लाख रुपैयाँ पुरस्कार पाए ।  श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गरेका थिए ।

केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै ३० हजार रुपैयाँ पुरस्कार पाएका छन् । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्