सत्तारूढ दलको सहमतिमै राष्ट्रपतिको टुंगो लगाउँछौं : प्रधानमन्त्री दाहाल

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको उम्मेदवार सत्तारूढ गठबन्धनका दलहरूको सहमतिमै टुंगो लगाउने बताएका छन् ।

शुक्रबार दिउँसो बालकोटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन कायम रहेको बताउँदै राष्ट्रपतिको उम्मेदवारको टुंगो सत्तारूढ गठबन्धनका दलहरूको सहमतिबाटै हुने बताएका हुन् । 

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले एक–दुई दिनमै राष्ट्रपतिबारे सहमति हुने बताए । उनले भने, ‘हामी सँगै छौं। यो सँगै भएकाले टुटेको त देखाउँदैन नि, राष्ट्रपति सहमतिमै टुंगो लगाउँछौं। एक–दुई दिनमै टुंगो लाग्छ।’

एमाले अध्यक्ष ओलीले भने प्रधानमन्त्री दाहालसँग पाँच वर्ष नै यही गठबन्धनलाई कायम राख्नुपर्ने र राष्ट्रपतिको सन्दर्भमा पुस १० गते भएको गठबन्धनको सहमतिलाई कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेको ओलीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपतिमा सहमति जुटाउनेबारेमा छलफल भएको थियो । 

प्रधानमन्त्री दाहालले राष्ट्रपति सबै दलको सहमतिमा चयन गर्ने बताउँदै आएका छन् । तर, अध्यक्ष ओलीले पुस १० को सहमतिअनुसार नै राष्ट्रपति चयन हुनुपर्ने अडान राख्दै आएका छन् ।

यसअघि बिहीबार पनि प्रचण्ड र ओलीबीच बालुवाटारमा दुई घन्टाभन्दा बढी एक्लाएक्लै भेटवार्ता भएको थियो ।

सहमतिविपरीत पछिल्लो समय नेपाली कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै एमालेवित्तमा संशय पैदा भएको छ । यसैबीच दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्