नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्ने : शङ्कराचार्य निश्चलानन्द

आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्ने भएका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उनले प्रवचनसमेत गर्ने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले राससलाई जानकारी दिए ।

कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गरेका थिए । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भन्दै शङ्कराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।

नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्दै उनले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राखे ।

आज साँझ शङ्कराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्