गण्डकीमा प्रदेश निजामती सेवा पुरस्कार घोषणा

शुक्रबार, फागुन ५, २०७९

पोखरा– गण्डकी सरकारले यस वर्षको प्रदेश निजामती सेवा पुरस्कार घोषणा गरेको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार १ जनालाई सर्वोत्कृष्ट, ३ जनालाई उत्कृष्ट र ६ जनालाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । 

सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार पाउनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया भट्टराई पंगेनी छिन् । उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन् । 

उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारका लागि लमजुङ डिभिजन वन कार्यालयका अधिकृत पूर्णेश्वर सुवेदी, कास्की यातायात व्यवस्था कार्यालयका अधिकृत डिल्लीराम रिजाल र मनाङ स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छनोट भएका छन् । उत्कृष्टतर्फको पुरस्कार राशि जनही ७५ हजार रुपैयाँ छ ।

यस्तै ५० हजार राशिको प्रदेश निजमती सेवा पुरस्कारबाट यस वर्ष पोखरास्थित प्रदेश संग्रहालयका अधिकृत करुणा राई, मुस्ताङ पूर्वाधार विकास कार्यालयका इन्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुंगाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ छन् । 

प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, विभाग र आयोगबाट सिफारिस भई आएका ४४ जनामध्येबाट बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 

गणतन्त्र दिवसका अवसरमा पुरस्कार प्रदान गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश घर्तीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्