गुल्मीमा ३१२ प्रजातिका चरा

शुक्रबार, फागुन ५, २०७९

गुल्मी– विश्वमा रहेकामध्ये ८.९ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो ।

गुल्मीको मदाने र रेसुंगा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी २ क्षेत्रमा बर्सेनि चराका प्रजातिको संख्या बढिरहेको छ ।

यस वर्षको सर्वेक्षणमा यहाँ १३ प्रजातिका नयाँ चरा फेला परेका छन् । जिल्लाको मदाने वन संरक्षण क्षेत्रमा ८ र रेसुंगा वन संरक्षण क्षेत्रमा ५ प्रजातिका नयाँ चरा फेला परेको यससम्बन्धी सर्वेक्षण गरिरहेको नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भरत पन्थीले बताए ।

योसँगै गुल्मीमा चराका ३१२ प्रजाति पुगेका छन् ।  हाल मदाने क्षेत्रमा २७२ र रेसुंगा क्षेत्रमा २५८ प्रजातिका चरा भेटिएका हुन् । यी दुवै क्षेत्रमा पाइने २१८ प्रजातिका चरा छन् । नेपालमा हालसम्म ८९२ प्रजातिका चरा पहिचान भएकामा गुल्मीमा ३५ प्रतिशत छन् । 

चरा सर्वेक्षणको क्रममा मदाने क्षेत्रमा हिमाली मलेवा, कण्ठे सुगा, खरलाहाँचे, लामोठुँडे चाँचर, खोले टिकटिके, लघु बगेडी, फुस्रो टिकटिके र ठुलो छिरबिरे माटीकोरे प्रजातिका चरा भेटिएका हुन् ।

रेसुंगा क्षेत्रमा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवाचखेवी र तिलहरी चरा फेला परेका छन् ।  

गुल्मीमा विश्वकै दुर्लभ ६ प्रजातिका चरा यसअघिको अध्ययनमा पुष्टि भएको थियो । यहाँ रणमत्त महाचील, चीर, सेतो गिद्ध, गोमायु महाचील, डंगुर गिद्ध र सुन गिद्ध छन् ।

रेसुंगा ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण क्षेत्र रहेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । उनका अनुसार रेसुंगालाई थप संरक्षणका लागि काम गरिनेछ ।

डिभिजन वन कार्यालय गुल्मीका निमित्त प्रमुख रामकुमार चौधरीले चराको वासस्थानको लागि वन क्षेत्रको संरक्षण गरिरहेको बताए ।

चराको वासस्थान मानिने रेसुंगा क्षेत्र आफूहरूले संरक्षण गर्ने रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

तर, रेसुंगा क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा छ । मदाने र रेसुंगा क्षेत्रमा दुर्लभ चरा भेटिए पनि यसबाट केही फाइदा लिन सकिएको छैन । मदाने वन संरक्षण क्षेत्र २०६८ र रेसुंगा वन संरक्षण क्षेत्र २०७४ मा घोषण गरिएको थियो । 

वन विनाश, वासस्थान परिवर्तन र चोरी सिकारीका  कारण यसलाई जोगाइराख्न चुनौती रहेको अध्ययनमा देखाइएको छ ।

रेसुंगा वन संरक्षण क्षेत्र १९ हजार २८१ हेक्टर र मदाने वन संरक्षण क्षेत्र १३ हजार ७६१ हेक्टरमा फैलिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्